यो कुरा करिब ९ बजेर २० मिनेटतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो
मनमा एकै पटक अनेकौं तरङ्गहरु जन्मायो । मैले तुरुन्तै अन्नपूर्ण एडीसी
अफिसमा फोन गरेँ । त्यहाँ फोन उठेन । त्यसपछि मलाई ‘समथिङ इज रङ’ भन्ने
लाग्यो । तुरुन्तै म सबै कार्यक्रम छाडेर ‘राजदरबार जान्छु’ भन्ने भनेर
निस्किएँ । दुमन, गणेशजी र म बाटोमा आइरहेका थियौं, एकदमै हताश र आत्तिएको
स्वरमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशब महतको फोन आयो,
‘सर, भयङ्कर समस्या आइपर्यो, तपाई तुरुन्तै सैनिक अस्पताल आउनुपर्र्यो ।
त्यति बेला हामी सोह्रखुट्टे आइसकेका थियौं । त्यहीँबाट हामी तुरुन्तै गाडी
मोडेर वीरेन्द्र सैनिक अस्पतालतिर लाग्यौं । त्यसलगत्तै समारोह प्रबन्धक
कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो । उहाँको स्वर पनि निकै
आत्तिएको र हताश थियो । ‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन
आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिनँ । सायद तपाईलाई आउनुपर्ने
फोन मलाई पो आएको हो कि ?’ भन्नुभयो । मैले ‘सर, मलाई तुरुन्तै वीरेन्द्र
अस्पताल आउनु भन्ने खबर आएको छ,’ भनेर फोन राखिदिएँ । डा. दुमनले मलाई
सैनिक अस्पतालमा छोडि दिनुभयो र उहाँहरु र्फकनुभयो ।
९ बजेर ३५/३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड
जम्मा भइसकेको रहेछ । प्रधान सेनापति प्रज्वलशमशेर जवरा पनि आइसक्नुभएको
रहेछ । त्यसबेलासम्म मलाई के भएको हो भन्नेबारे केही थाहा थिएन । तर सबै
जनालाई मलाई नै ‘के भो ?’ भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना
त्यति बेला ड्युटिमा प्रमुख एडीसी हुनुहुन्थ्यो । म भित्र पस्दै थिएँ,
उहाँसँग जम्काभेट भयो । त्यही टीका धमला जर्सावसँग पनि भेट भयो । उहाँहरु
दुबैले ‘सर, खत्तम भयो, खत्तम भयो मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई
लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहाँ कल्पनै नगरेको कारुणिक दृश्य
देख्नुपर्यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य । जता हेर्यो, उतै
क्षत-विक्षत र रक्ताम्मे शरीरहरु मात्र ढलेका थिए । वीरेन्द्र सरकार,
बडामहारानीको क्षति-विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरन्द्र
सरकारलाई बताउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो । तर मौसममा
कहीँकतै होस थिएन । मैले पनि मौसुफको नाडी छामेँ । शरीरमा अलिकति मात्र
तातो बाँकी थियो । सायद सरकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि
नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हताशामै थिए । छेउमै
मुमा बडामहारानी सरकार होइबक्सँदो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो ।
मैले अभिवादन गरेँ ।
दीपेन्द्रको चरित्र र जेठ १९ को भित्री रहस्य भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस …..
जेठ १९ को त्यो कालो रातले राजा वीरेन्द्रको वंश नाश गरायो भने नेपालमा
राजसंस्थाको इतिहासकै अन्त्य गरायो । त्यस रातको घटनाबारे आजसम्म पनि
विभिन्न किसिमका अडकलबाजी हुँदै आएका छन् । त्यो घटना कसले गरायो ? कसरी
भयो ? र, किन गराइयो ? यस्ता धेरै प्रश्नहरु अनुत्तरित छन् ।
संसारलाई नै स्तब्ध पार्ने यो हत्याकाण्ड दुनियाँको नजरमा लोकपि्रयताको
शिखरमा चढिरहेका तत्कालीन युवराजधिराजबाट भएको हो भनेर सामान्यतः कसैले पनि
पत्याउँनै सक्दैन । म दीपेन्द्र सरकारलाई मौसुफ सानै छँदादेखि चिन्दथेँ ।
मैले दीपेन्द्र सरकारको पूरै जीवन देखेको छु । मौसुफको व्यक्तित्व कसरी
विकास हुँदै आयो, एकदमै नजिकबाट अनुभव र अध्ययन गरेको छु । सरकारको
अस्वाभाविक उपध्रो, हठ, बदमासी, परपीडक स्वभाव, इगो, उपेक्षित भएको
अनुभूति, माया-प्रेमको तृष्ण, भावुकता, महत्वाकाङ्क्षा, नैराश्य, आवेग,
आदीलाई छर्लङ्ग देखेभोगेको छु ।
परपीडक स्वभाव दीपेन्द्र सरकारमा सानैदेखि देखिन्थ्यो । दरबारमा उडिरहेको
परेवा गुलेली हानेर मार्न खोजिबक्सन्थ्यो । गुलेली लागेर परेवा भुइँमा
खस्दथ्यो पनि । अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने
गरिबक्सन्थ्यो । उडिरहेको कागलाई पनि गोली हानेर झार्ने । र, त्यसै गर्ने ।
कहिलेकाँकी जिउँदो मुसा समात्ने र पुच्छरमा आगो लगाइदिएर छोडिदिने ।
त्यसलाई तड्पाई-तड्पाई मार्ने ।
देवयानीसँगको सम्बन्ध दीपेन्द्र सरकारले नेपाल फर्केपछि पनि कायम
गरिबक्स्यो । साथै सुपि्रयासँग पनि । देवयानीसँग ‘अफेयर’ भएको थाहा भएपछि
सुपि्रयाको दीपेन्द्र कुनै गुनासो सुनिएन । देवयानी आधुनिक तथा खानदानी
परिवारमा जन्मेकी, हुर्केकी र पढेकी पनि ।
केही अनुत्तरित प्रश्न
राजदरबार हत्या काण्ड हुनुभन्दा झन्डै बर्षदिनअघिदेखि शाही नेपाली सेनाको
आधुनिकीकरणको कार्ययोजना बनिरहेको थियो । यस क्रममा पुरानो हतियार बदल्न
अत्याधुनिक हतियार किन्ने र सेनाको प्रत्येक तहमा पुर्याउने योजना थियो ।
वीरेन्द्र सरकारबाट उच्च चासोका साथ यस प्रक्रियालाई अगाडी बडाइबक्सेको
थियो । मुलुकमा माओवादी समस्या जटिल बन्दै जाँदा कुनै पनि बेला सेना
परिचालन गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने विश्लेषण गरेर यो आधुकिकीकरणको
प्रयास सुरु गरिएको थियो । यसै सिलसिलामा नेपालले ‘अल्ट्रा मोडर्न’ हतियार
एचके जी ३६ राईफल किन्ने प्रक्रिया अगाडी बढाइरहेको थियो । यो हतियार
नेपालमै ‘एसेम्बल’ गर्ने र दक्षिण एसियाली मुलुकमा बेच्नेसमेत योजना थियो ।
यसका लागि हतियार उत्पादक कम्पनी हेक्लर एण्ड कोकले समेत सहमति जनाइसकेको
थियो । तर एचके जी ३६ राइफल खरिद गर्ने र नेपालमै ‘एसेम्बल’ गर्ने योजना
हाम्रो छिमेकी देश भारतलाई मन परिरहेको थिएन् ।
यस्तै वीरेन्द्र सरकारबाट २०३१ सालमा सम्पन्न शुभराज्याभिषेकका अवसरमा
नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गरियोस् भनेर राखिबक्सेको प्रस्तावलाई
संसारका सबैजसो महत्वपूर्ण ११६ देशले स्वागत र समर्थन गरेका थिए । तर
भारतले यस विषयमा समेत नकारात्मक दृष्टिकोण राखेर समर्थन गरेको थिएन । यी त
केही घटना मात्र हुन् ।
पूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण ‘मैले देखेको दरबार’बाट

No comments:
Post a Comment